# भर्खरै
Namaste Icon
Ad

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

म्याग्दी । म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।

फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् ।

अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् । पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । 'फापरको माग बजारमा बढ्दै गएको छ', मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का शैलेन्द्र शेरचनले भने । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उहाँको भनाइ छ ।

फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । रासस

सम्बन्धित समाचारहरु

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या हो ।

कागेश्वरी मनोहरा २ आलापोटमा खुल्याे हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरे । हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad