# भर्खरै
Namaste Icon
Ad

डेंगी (Dengue Fever ): एकपटक पढ्नुहोला

डेंगी (Dengue Fever ): एकपटक पढ्नुहोला
डा. रविन्द्र पाण्डे

अहिले काठमाडौंलगायत देशका बिभिन्न ठाउँमा डेंगीको प्रकोप बढिरहेको छ । मैले बंगलादेशमा जनस्वास्थ्य स्नातकोत्तर पढ्दा डेंगीको भयाबह स्वरूप अत्यन्तै नजिकबाट महशुष हरेको थिएँ । फ्ल्याटमा बस्दा डेंगीको डरले हामी रातिमात्र हैन, दिउँसो पनि झुल भित्र बसेर पढ्ने/सुत्ने गर्दथ्यौं । डेंगीको कारक यो लामखुट्टे बाल्टिन, जग, फूलदानी आदि सफा ठाउँमा बस्ने तथा प्राय : दिनमा टोक्ने प्रकृतिको भएकोले हामीले त्यस्ता पानी जम्ने ठाउँ सुख्खा राख्थ्यौं । कतै बाहिर जाँदा ओडोमस लगायत लामखुट्टे भगाउने क्रीम शरीरको खुला हुने ठाउँमा लगाउने गर्थ्यौं । प्रचण्ड गर्मीमा पनि लामबाहुले कपडा लगाउने गर्थ्यौं ।

मेरो बंगाली साथीलाई अचानक उच्च ज्वरो आउने, जोर्नी/मांशपेशी र ढाड अत्यन्तै देख्ने, आँखाको गेडी दुख्ने, टाउको फुट्लाजस्तो दुख्ने, वाकवाकी र वान्ता हुने तथा शरीरमा राता बिमिरा आउने लक्षण देखिए । हड्डी तथा जोर्नीमा अत्यधिक दुखाइ हुने भएकोले डेंगीलाई ‘ब्रेकबोन फिभर' पनि भनिन्छ ।

सुरुमा उसले घरमै बसेर लक्षण अनुसारको औषधि सेवन गर्यो । रगत परीक्षण गर्दा डेंगी एनएस१ पोजिटिभ देखियो । WBC घटेर १२०० पुग्यो, प्लेट्लेट्स ५०,००० मा झर्यो । त्यसपछि उ तत्काल अस्पतालमा भर्ना भयो । पिसिआर टेस्ट गर्दा डेंगी भाइरस पोजिटिभ देखियो । अस्पताल पुगेपछि एकदम पेट दुख्ने, लगातार वान्ता हुने, मुखबाट रगत आउने, एकदम छटपटी हुने, शिथिल हुने, कलेजो सुन्निने तथा प्लेट्लेट्स घट्दै गयो ।

उसलाई रगत चढाउने, सलाइन दिने तथा अन्य उपचार दिने क्रम भइरहेको थियो । दर्जनौं पिन्ट रगत दिएपछि उसको प्लेट्लेट्स १०,००० बाट बढ्न थाल्यो । त्यसपछि हामी ढुक्क हुन थाल्यौं । अस्पताल भर्ना भएको एकहप्ता निकै तनावमा बित्यो । प्लेट्लेट्स बढ्न थालेपछि उसलाई कालोचिया, दालको रस हुँदै मुखबाट खाना दिन सुरु भयो । अस्पतालको खाना उसले पटक्कै खान सकेन । हामीले आफै पकाएर उसलाई दिनको ३ पटक खाना पुर्याउने गर्यौं । उपचार तथा आहारको सन्तुलनले उसलाई निको भयो ।

बंगलादेशमा डेंगीको कारण बर्षेनी धेरैको मृत्यु हुन्छ । त्यसो त भारत र नेपालको तराइ पनि डेंगीको जोखिममा पर्दछन् । बिगत केहिबर्षदेखि डेंगी तराइमा मात्र नभएर पहाड तथा सहरमा पनि उकालो लागिरहेको छ ।

डेंगीको समयमै उपचार नगरेमा ग्रन्थी प्रणाली तथा रक्तनली नष्ट हुनसक्छन | छालाभित्र रगत जम्ने, आन्तरिक रक्तश्राब हुने तथा रक्तसंचार प्रणाली फेलर हुनसक्छ । साधारण डेंगीभन्दा रक्तश्राबजन्य डेंगी निकै खतरनाक हुन्छ । यसबाट डेंगी सक सिन्ड्रोम हुँदै मृत्यु पनि हुन सक्छ ।

डेंगीको ठोस उपचार छैन् । ज्वरो आउने, टाउको तथा हड्डी दुखेमा ब्रुफिन/निमुसेलाइड/एस्पिरिन लगायतका औषधि खानु हुँदैन । पारासिटामोल सुरक्षित हुन्छ । मल्टिभिटामिन खान सकिन्छ | प्लेट्लेट्स बढाउन हाल मेवाको पातबाट बनेका चक्की बजारमा उपलब्ध छन् । ती चक्की चिकित्सकको सिफारिस र निगरानीमा मात्र सेवन गर्न सकिन्छ ।

डेंगीको घरेलु उपचार
• ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।
• शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ।
• प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने।
• मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने।
• प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने।
• बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ।
• रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने।
• अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ।
• स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।
• नीमको पातले पनि प्लेटलेट बढाउछ।
• हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ।
• मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ।
• दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ।
• तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन।
• जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ।
• सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ।
• खीर रुचिकर तथा फाइदाजनक हुन्छ।
• अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ।
— ( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने।)

यी सबै एकैपटक खानुपर्छ भन्ने होइन् । यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने । डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ। यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ ।

कुन अवस्थामा तुरुन्त अस्पताल जाने ?
- नाक, मुखबाट वा बान्ता गर्दा रगत आएमा
- ज्वरो नियन्त्रण नभएमा
- सेतो रक्तकोष तथा प्लेट्लेट्स निकै घटेमा
- बेहोस होलाजस्तो भएमा

डेंगीबाट बच्ने उपायहरू: Ref UNICEF
• एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
• आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
• घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
• बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
• पूरै शरिर ढाक्ने लुगा लगाउने ।
• पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
• काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
• घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
• कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad