कांग्रेसले पायाे प्रमुख विपक्षी दलको मान्यता

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले सोमबार कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो । कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन संघीय संसद् सचिवालयमा निवेदन दिएको थियो। कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न उठेको थियो । नेपाल मजदुर किसान पार्टीले पनि प्रमुख विपक्षी दलको मान्यता दिन सचिवालयलाई निवेदन दिएको थियो ।
सचिवालयका उपसचिव रामहरि थापाको पत्रमा भनिएको छ, ' प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्र्दभमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।'
पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए।
काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।