राष्ट्रियसभा उपनिर्वाचनमा भिड्दै दसौंदी र आचार्य

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका दसौंदीको प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेल र समर्थकमा राप्रपा बाकेका प्रदेश सदस्य मिना कुमारी श्रेष्ठ रहेकी छन्। त्यस्तै, आचार्यको प्रतावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन् ।
एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २१८ मतदाता छन्। माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।
प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् । यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन् ।
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।
काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न चुनौती दिएका छन् । संसदको आजको बैठकमा बोल्दै महासेठले महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिएका हुन् । पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्दै उनले उल्टै प्रश्न गरे ।